फागुन १२, बारा । बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत करैयामाई गाउँपालिकाको लौतन सिस्वा र उम्मजन क्षेत्रमा आज जसपा नेपालको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर प्रसाद यादवको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको थियो ।
घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका दैनिक जीवनसँग जोडिएका समस्या, गुनासा तथा विकास सम्बन्धी अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभएको थियो । उहाँले नागरिकका वास्तविक समस्या समाधानका लागि आफू निर्वाचित भएपछि प्रतिनिधिसभामा प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले उत्साहपूर्वक स्वागत गर्नुका साथै जसपा नेपालप्रति आफ्नो समर्थन र विश्वास व्यक्त गरेका थिए । स्थानीयले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विस्तारका विषयमा आफ्नो अपेक्षा राखेका छन् ।
घरदैलो कार्यक्रमले चुनावी माहोललाई थप सक्रिय बनाउनुका साथै उम्मेदवार यादव र स्थानीयबीच प्रत्यक्ष सम्बन्ध मजबुत बनाएको छ ।
