प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब ६ विकेटले विजयी

13

१७ चैत्र कलैया — प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार वीरगन्जमा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो । पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित ४२ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ६२ रन बनायो। कोशीका लागि सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रनको योगदान दिए। बलिङतर्फ पुलिसका दिनेश खरेलले उत्कृष्ट प्रदर्शन गर्दै सात ओभर ५ बलमा २१ रन दिई ५ विकेट लिए । उनले २ ओभर मेडन पनि राखेका थिए । सागर ढकालले १० ओभरमा १४ रन दिई २ विकेट झारे।

१ सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाई विजयी भयो । पुलिसका आरिफ शेखले ७९ बलमा अविजित ८१ रनको सानदार इनिङ्स खेले । राशिद खानले ९० बलमा अविजित ७३ रन बनाएर पुलिसको जितमा महत्त्वपूर्ण भूमिका खेले।

कोशी प्रदेशका बलरमध्ये विपिनकुमार महतोले २ विकेट लिए भने दिपेश कडेलले १ विकेट हात पारे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुलिस क्लबका दिनेश खरेल ुप्लेयर अफ द म्याच’ घोषित भए।

शेयर