तेहरान । इरानका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले सरकारविरुद्ध व्यापक प्रदर्शन गरेका छन् । गत महिनाको घातक दमनपछि यति ठुलो स्तरमा भएको यो पहिलो विरोध प्रदर्शन हो । प्राप्त भिडियो प्रमाणअनुसार राजधानी तेहरानस्थित हरिफ युनिभर्सिटी अफ टेक्नोलोजी परिसरमा शनिबार सयौँ विद्यार्थीले मार्च गरेका थिए । प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि पछि सरकार समर्थक समूहसँग झडप भएको देखिएको छ ।
प्रदर्शनकारीहरूले ‘तानाशाहको मृत्यु होस्’लगायतका नाराहरू लगाएका थिए । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर सडकमा उत्रिएका थिए । तेहरानकै शहिद बेहेष्टी विश्वविद्यालयमा शान्तिपूर्ण धर्नामा बसेको तस्बिर सार्वजनिक भएको छ भने अमिर कबीर युनिभर्सिटी अफ टेक्नोलोजीमापनि सरकारविरुद्ध नाराबाजी गरिएको भिडियो पुष्टि भएको छ । उत्तर–पूर्वी क्षेत्रमा समेत र्यालीको खबर आएको छ ।
विद्यार्थीहरूले जनवरी महिनामा देशव्यापी आन्दोलनका क्रममा मारिएका हजारौँ व्यक्तिको सम्झनामा विरोध गरेका बताइएको छ । उता, अमेरिका–इरान तनाव पनि बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि सीमित सैन्य कारबाहीको सम्भावना विचार गरिरहेको बताएका छन् ।
अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान परमाणु हतियार विकासतर्फ अघि बढिरहेको आशंका व्यक्त गर्दै आएका छन् । तर तेहरानले यस्तो आरोप अस्वीकार गर्दै आएको छ । दुवै देशका अधिकारीहरूबीच स्विट्जरल्यान्डमा हालै भएको वार्तामा केही प्रगति भएको भनिए पनि तनाव पूर्ण रूपमा कम भएको छैन । स्थिति थप चर्किन सक्ने चिन्ता बढिरहेका बेला इरानका विश्वविद्यालयहरूमा देखिएको नयाँ विरोध लहरलाई धेरैले महत्त्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिरहेका छन् ।
