संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १२ । बाराको एकैपटक चार वडामा रहेका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहको वास्तविक अवस्था बुझ्न प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।वडा नं.४ हर्दिया, वडा नं.६ मझरिया, वडा नं.७ सनफुलवा र वडा नं.८ प्रशुरामपुरस्थित कार्यालय तथा स्वास्थ्य चौकीहरूमा पुगेर चौधरीले सेवाग्राही, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै वर्तमान सेवा प्रवाहमा देखिएका समस्या, चुनौती र सुधारका उपायबारे विस्तृत छलफल गरेका हुन्।
अनुगमनका क्रममा सेवाग्राहीले सेवा लिन जाँदा भोग्नुपरेका कठिनाइहरू, स्वास्थ्यकर्मीले मानवशक्ति, सामग्री तथा संरचनागत अभावका कारण देखिएका अवरोधहरूबारे तथ्यगत जानकारी लिइएको जनाइएको छ।
चौधरीले स्थानीय तहमार्फत प्रदान हुने स्वास्थ्य सेवा जनमुखी हुनुपर्ने बताउँदै सेवा गुणस्तर सुधार, समयमै सेवा उपलब्ध गराउने, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थित व्यवस्थापन गर्ने तथा सेवामा देखिएका कमीकमजोरी तुरुन्त सुधार गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन्।
स्वास्थ्य संस्थाको भौतिक अवस्था, अभिलेख व्यवस्थापन, उपस्थितिका विवरण र दैनिक सेवा प्रवाहको निरीक्षण गर्दै उनले स्थानीय तहको जिम्मेवारीप्रति अधिक जिम्मेवारीपूर्ण भएर काम गर्न सबैलाई आग्रह गरे।
अनुगमनमा सहभागी सेवाग्राही र जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृतको सक्रिय पहलले समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

