हरि खेतान क्याम्पसको परिक्षा रद्दको बिरोधमा बिद्यार्थीहरु आक्रोशित बसमा तोडफोड

14

संरक्षण , चैत्र ८ बिरगंज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पस मा कक्षा १२ को त्रैमासिक परीक्षा अन्तिम समयमा आएर रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले क्याम्पसको बसमा तोडफोड गर्दा ठूलो क्षति पुगेको छ।

कलेज प्रशासनले आईतवार देखि सञ्चालन हुने भनिएको परीक्षा आकस्मिक रूपमा स्थगित गरेको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थीहरूले कलेज परिसरमै विरोध प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले परीक्षा निर्धारित समयमै सञ्चालन गर्नुपर्ने, नियमित कक्षा र शैक्षिक गतिविधि प्रभावित नहुने गरी व्यवस्थापन गर्नुपर्ने माग राख्दै कलेजको मुख्यद्वार अगाडि धर्ना दिएका थिए। साथै क्याम्पस प्रमुख तथा सञ्चालक समितिविरुद्ध नाराबाजी गरेका थिए ।

विद्यार्थीहरूका अनुसार कलेजभित्र शिक्षा विभाग, प्रशासन, कर्मचारी तथा सञ्चालक समितिबीचको आन्तरिक विवादका कारण पटक–पटक पठनपाठन र परीक्षा प्रभावित हुँदै आएको छ। यस्तो अवस्थाले आफ्नो भविष्य प्रभावित नहोस् भन्ने उनीहरूको मुख्य माग रहेको छ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले र्‍याली निकाल्दै घण्टाघरसम्म पुगेर चक्काजाम गर्नुका साथै टायर बालेर विरोध जनाएका थिए। यसका कारण मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्सा का अनुसार प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि सामान्य ठेलमठेलको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रहरीले यातायात सहज बनाउने प्रयास जारी राखेको जनाएको छ।

यता विद्यार्थीहरूले निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन्। कलेज प्रशासनले भने परीक्षा स्थगित गर्नुको कारणबारे स्पष्ट जानकारी दिएको छैन। नियमित परीक्षा सञ्चालन गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।

शेयर