करणको इनिङ्समा पुलिसको आर्मीसँग स्कोर बराबर

27

काठमाडौँ — करण केसी र ललित राजवंशीले नवौं विकेटमा ६२ रनको साझेदारी गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप फाइनलको दोस्रो दिन त्रिभुवन आर्मी क्लबसँगको स्कोर बराबरी बनाएको छ ।

करणले अविजित ७२ रन बनाएपछि डिफेन्डिङ च्याम्पियन पुलिस बुधबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा पुलिस ६१.४ ओभर खेली २ सय २१ रनमा अलआउट भयो । इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा २ सय २१ रन बनाएको थियो ।
करणले सागर ढकालसँग दसौँ विकेटमा २४ रनको साझेदारी गरेका थिए । आकाश चन्दले अन्तिम ब्याटर सागरलाई शून्यमा आउट गरि पुलिसको इनिङ्सलाई टुंग्याएका थिए । करणले १ सय ९ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । आर्मीले ६० ओभरमा नयाँ बल लिएपछि करणले पहिलो बलमै सोमपाल कामीलाई छक्का प्रहार गरेका थिए ।

सोमपालले ५ विकेट लिए । उनले १७ ओभरमा ३ मेडन राख्दै ७२ रन खर्चे । आकाशले २ तथा शाहब आलम, पवन कार्की र नरेन साउदले १-१ विकेट लिए ।
यसअघि पुलिसले ४१/३ बाट दिनको खेल प्रारम्भ गरेको थियो । अघिल्लो दिनका अविजित ब्याटर दिनेश खरेल व्यक्तिगत ६ रन जोडी १७ रनमा आउट भए । उनले ५६ बल खेली २ चौका प्रहार गरे । रशिद खानले १५ रन बनाए । उनले ४४ बल खेलि २ चौका प्रहार गरे । दुवैलाई सोमपाल कामीले आउट गरे ।
कप्तान आरिफ शेख र शंकर रानाले छैटौं विकेटमा ३३ रनको साझेदारी गरे । शंकरले २२ बल खेली ३ चौका प्रहार गर्दै १५ रन बनाए । गुलशन झाले १० बल खेली ४ रनमात्र जोड्न सके । आरिफ ४४ रनमा आउट भए । नरेन साउदको बलमा विकेटकिपर एवंम कप्तान विनोद भण्डारीबाट क्याच हुनु पूर्व उनले ७० बल खेली ६ चौका प्रहार गरे ।

शेयर