संरक्षण न्युज १० फाल्गुन । मुम्बई — रमित कार्कीको पहाड घर दार्चुला हो । हाल कैलालीको अत्तरिया बस्छन् । सीवाईसी अत्तरियामा एक वर्षदेखि क्रिकेट प्रशिक्षण लिइरहेका उनले धनगढी क्रिकेट एकेडेमी (डीसीए) को फेसबुक पेजमा मुम्बई भ्रमणमा टिम जान लागेको सूचना हेरे पनि त्यसलाई खासै ध्यान दिएका थिएनन् ।साथीहरूको सल्लाहपछि भने १६ वर्षीय उनी डीसीए पछ्याउँदै धनगढी पुगे । ट्वान्टी–२० विश्वकप क्रिकेट चलिरहेको यो समयमा डीसीएले मुम्बई भ्रमण तालिका मिलाएको थियो । १२ देखि १६ वर्षका खेलाडीलाई लिएर आएको डीसीएले ६ फरक टोलीसँग खेलेको थियो भने नेपालले विश्वकपमा खेलेको चारै खेल डीसीएका खेलाडीले प्रत्यक्ष मैदानमा आएर हेरे ।
खेलाडीलाई एक्सपोजर दिन र अन्तर्राष्ट्रिय अनुभव दिलाउन डीसीएले मुम्बई भ्रमण गराएको मौकामा रमितले शतक प्रहार गरिसकेका छन् । आजाद मैदानको न्यु इरा पिचमा उनले तेस्रो खेलमा मारिया क्रिकेट एकेडेमीविरुद्ध १ सय १५ बलमा १ सय ३९ रन बनाएका थिए । ‘शतक बनाउन कसलाई मन नपर्ला र,’ रातो विकेटमा शतक बनाएका उनलाई त्यसको चार दिनपछि भेट्दा पनि शतकलाई लिएर निकै रोमाञ्चित थिए । पहिलो पटक टर्फ विकेटमा खेल्न उनले शतक बनाए । त्यही भएर उनका लागि यो शतक विशेष छ । उनलाई थाहा छ मुम्बईमा सिकेको कुराले खेल अझ अगाडि मदत गर्नेछ ।
डीसीए सन् २०१५ मा पनि मुम्बई भ्रमणमा आएको थियो । लोकेश बमले नेपाली क्रिकेटमा आफ्नो आगमन मुम्बईबाटै दिएका थिए, जब उनले आजाद मैदानमै सिन्ध स्पोट्र्स क्लबसँगको दुईदिवसीय खेलको पहिलो दिनमा १ सय ६ रन बनाएका थिए । लोकेश त्यतिबेला १५ वर्षका थिए । त्यही लोकेशले ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा नेपाललाई विजय नजिक पु¥याएका थिए ।
ठूलो मैदान भएकाले राम्रो स्कोर गर्ने रहर र चाहना दुवै हुन्छ । तर अगाडि टप्पा भएको बलमा ब्याक फुटमा गएर हान्दा उनी आउट हुन पुगेका थिए । जसरी त्यो बल खेल्नुपथ्र्यो, त्यो नखेलेर आउट भएकाले रमितलाई पनि चित्त बुझेको छैन । देव्रेहाते ब्याटर हुन् उनी । बलिङ भने दाहिने हातले गर्छन् । नेपाली क्रिकेटमा देव्रेहाते ब्याटरको कमी रहेको अवगत गराउँदा उनले मुस्कुराउँदै भने, ‘राम्रै आस गरौं ।’ उनले मुम्बईमा खेलेर आफ्नो कमजोरी थाहा पाएका छन् । आफ्नो आत्मविश्वास कुन शटमा छ भनेर पनि बुझ्ने अवसर पाए । नेपाल गएर आफ्नो कमजोरीप्रति ध्यान दिने उनको योजना छ ।
कीर्तिपुर मैदानमा गएर अहिलेसम्म उनले म्याच हेर्न पाएका छैनन् । तर, पहिलो पटक रंगशालामा आएर नेपालको विश्वकप खेल हेर्दा उनलाई रमाइलो र गर्व महसुस भएको छ । रमितले सुनाए, ‘दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेललाई पहिलो पटक प्रत्यक्ष देख्न पाएँ । कुशल मलाई मनपर्ने ब्याटर हुन् । क्लासिक खेल्ने भएकाले धेरै मनपर्छ । म पनि क्लासिक खेल्ने गर्छु ।’ मुम्बई आएको खर्च प्रतिखेलाडी ६० हजार रुपैयाँ थियो । आधा खेलाडीले तिर्नुपर्ने र आधा डीसीएले आफ्नो स्रोतबाट जुटाएको थियो ।
डीसीए टोलीकै सुशील बोगटी १५ वर्षका भए । उनी अफ स्पिन बलिङ गर्छन् । पहिला उनी गाउँमै खेल्थे । अत्तरिया क्रिकेट एकेडेमी खुलेपछि उनी त्यहाँ प्रशिक्षण गर्न पुगे । डीसीएले मुम्बई भ्रमण जान लागेको सूचना राखेपछि उनी परिवारसँग सल्लाह गरेर यता खेल्न आइपुगेको बताउँछन् । परीक्षा आइरहेकाले पढाइमा केन्द्रित हुन परिवारले दबाब दिए पनि उनले मुम्बई आउने अडान छाडेनन् ।
डीसीएले खेलेको दोस्रो खेलमा उनले फिनिक्स स्पोट्र्स क्लबविरुद्ध पाटिल माउन्टेन भ्यु जिमखाना बदलापुरमा लगातार ह्याटिक विकेट लिएका थिए । ‘पहिले नेटमै मात्र खेलेको थिएँ, मुम्बईमा ठूलो म्याच खेल्न पायौं,’ सुशीलले ह्याट्रिक विकेटको कहानी सुनाए, ‘पहिलो बलमा स्टम्पिङ भयो, दोस्रो हावामा बल दिएको थिएँ कट एन्ड बोल्ड भयो । तेस्रो बलमा बोल्ड गरें ।’ उनी बल हावामा छोड्न मन पराउँछन् । पहिलो पटक घरबाहिर खेल्न आउँदा राम्रो अनुभव बटुलिरहेको उनी सुनाउँछन् ।
अत्तरियास्थित दुर्गालक्ष्मी माविमा पढिरहेका उनी राम्रो खेल्दै गए आफूले एकदिन लोकेश बमविरुद्ध बलिङ गर्न पाउने आशा राख्छन् । उनी पहिला टेनिस बल खेल्थे र लेग स्पिन गर्थे । टेलिभिजनमा खेल हेर्न लागेपछि उनलाई अफ स्पिन राम्रो लाग्यो । एकेडेमीमा भर्ना भएपछि सिनियरहरूले राम्रो बलिङ छ भनेपछि त्यसयता अफ स्पिन नै बलिङ गरिरहेका छन् । डीसीएका प्रशिक्षक विजय राना किशोर खेलाडीले निकै राम्रो एक्सपोजर पाएकोमा दंग छन् । लोकेश पनि विगतमा यस्तैबाट सिकेर अहिले राष्ट्रिय टोलीमा पुगेकाले यसपटक आएका खेलाडीलाई त्यो प्रेरणा हुने रानाको बुझाइ छ । ८–९ महिनादेखि उनीहरूले डीसीएमा प्रशिक्षण गरिरहेका छन् । उनीहरूले एकेडेमीको अभ्यास खेलबाहेक खेल्न पाएका थिएनन् । अन्तर स्कुल प्रतियोगिताहरू मात्र खेलेका उनीहरूका यो भ्रमण निकै फलदायी भएको प्रशिक्षक रानाले सुनाए ।
उनले भने, ‘प्रत्येक खेलसँगै खेलाडीहरूले सिक्ने मौका पाइरहेका छन् । यहाँ जे सिकेका छन्, त्यो नेपाल गएर लागू गर्नुपर्छ । यहाँ खेल्नु धेरै फरक छ, धेरै खेलाडीले खेलिरहेका हुन्छन् । संघर्ष के हो भन्ने थाहा पाइन्छ । सबै नयाँ खेलाडी हुन्, उनीहरूले राम्रोसँग सिकिरहेका छन् ।’ डीसीएका व्यवस्थापक सन्दीप भट्ट आफ्ना खेलाडीले नेपालकै राष्ट्रिय खेलाडीलाई पनि टेलिभिजनमा मात्र हेर्न पाएको र एकै पटक विश्वकपमा उनीहरूको खेल प्रत्यक्ष हेर्न पाउँदा निकै अनौठो अनुभूति गरिरहेको बताए ।
‘उनीहरूले मुम्बई आएर धेरै सिक्ने अवसर पाउनुका साथै नेपालको खेल हेरेर विश्वकपको सपना देख्न थालिसकेका छन् । विश्वकप कुन हिसाबको हुन्छ भनेर उनीहरूले बुझ्न पाउनु ठूलो अवसर हो,’ भट्टले भने, ‘नेपालको विश्वकपमा खेलेको खेल हेरेर उनीहरू धेरै नै प्रेरित भएको पाएका छौं । यो स्तरमा पुग्न निरन्तर खेलिरहनुपर्ने उनीहरूले मनन गरेका छन् ।’
