बारामा ८ जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

7

संरक्षण बारा, असार २६ । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष खोजतलास अभियानका क्रममा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराइएको हो।

पक्राउ पर्नेहरूमा बैंकिङ कसुर, चेक अनादर, विदेशी विनिमय अपचलन तथा लेनदेन बिगो सम्बन्धी मुद्दाका प्रतिवादीहरू रहेका छन्। पक्राउ परेकामध्ये सिम्रौनगढ नगरपालिकाका ७४ वर्षीय छोटेलाल प्रसाद गुप्ता बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई १ महिना कैद तथा ५ लाख रुपैयाँ जरिवाना सजाय पाएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी महागढीमाई नगरपालिकाका पुष्कर कुमार चौधरी, भूपेन्द्र प्रसाद यादव, विनय कुमार ठाकुर तथा कलैया उपमहानगरपालिकाका गणेश कुमार गौड चेक अनादर मुद्दामा पक्राउ परेका छन्। साथै कलैया उपमहानगरपालिकाकै राजेश कुमार यादव विदेशी विनिमय अपचलन मुद्दामा, विश्रामपुर गाउँपालिकाका अरविन्द कुमार लेनदेन बिगो ९बालु मुद्दा० मा तथा कोल्हवी नगरपालिकाका पप्पु जयसवाल बैंकिङ कसुर ९बालु मुद्दा० मा पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउ अभियानलाई निरन्तरता दिँदै अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घले ले पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित बारा जिल्ला अदालतमा उपस्थित गराइएको जानकारी दिएका छन ।

शेयर