रौतहट, १३ असार
जिल्लास्तरीय बहुक्षेत्रीय पोषण कार्यक्रमको समीक्षा तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्ययोजना सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी रौतहटमा सम्पन्न भएको छ ।
कार्यक्रम प्रदेश नीति तथा योजना आयोग, मधेश प्रदेशको आयोजना तथा संरक्षण नेपाल, केयर नेपाल र आई. डि. ई. नेपालको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता प्रदेश नीति तथा योजना आयोग, मधेश प्रदेशका माननीय उपाध्यक्ष राजकुमार सिंहले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्या राय यादवको विशिष्ट उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका सचिव डा. प्रमोद यादव, खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशका महाशाखा प्रमुख डा। मुक्ति साह, साथै जिल्लाका १८ वटै स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यसैगरी गैरसरकारी संस्था महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि ज्ञान केन्द्र रौतहट, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रौतहटका प्रमुख तथा कार्यक्रमका वरिष्ठ अतिथि राम अयोध्या राय यादवले पोषण सुधारका लागि प्रत्येक अभिभावकले आफ्नै घरबारीमा उत्पादन हुने स्वच्छ, ताजा तथा अर्गानिक खाद्यवस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय स्रोत–साधनको उचित उपयोगमार्फत बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना देवी साह, बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका सचिव डा. यादवले मधेश प्रदेशमा पोषणका सूचकहरू कमजोर रहनुको प्रमुख कारण गरिबी, अशिक्षा, चेतनाको कमी तथा पोषणसम्बन्धी व्यवहारगत समस्याहरू रहेको औंल्याउनुभयो।
बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले सरकारले बालपोषणका लागि उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वास्तविक रूपमा बालबालिकाको पोषणमा खर्च नहुने गरेको उल्लेख गर्दै यसले राज्यले अपेक्षा गरेअनुसार पोषण सुधारको लक्ष्य हासिल गर्न चुनौती थपिएको बताउनुभयो।
औपचारिक कार्यक्रमका बीच प्रदेश नीति तथा योजना आयोग मधेशका संयोजक संजिव लामा घिसिङले मधेश प्रदेशमा पोषणको अवस्था, नीतिगत व्यवस्था, संस्थागत सुदृढीकरण र कार्यगत प्रयासबारे प्रस्तुतीकरण राख्नुभयो भने, विज्ञ सहजकर्ता जितेन्द्र नायकले नेपालमा कुपोषणको राष्ट्रिय अवस्था, कुपोषण सम्बन्धी बुझाइ र यसको मानव जीवनमा प्रभाव, पोषण सम्बन्धी नीतिहरू, कार्यक्रमहरू र यसका सरोकारवालाहरूको विषयमा आफ्नो तथ्याङ्क सहितको प्रस्तुतीकरण राख्नुभएको थियो।
दुई दिने कार्यशालामा स्थानीय तहहरूले पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका रणनीति, अनुभव आदान–प्रदान तथा आगामी कार्ययोजना निर्माण सम्बन्धी छलफल गर्ने संरक्षण नेपालको अधयक्ष बृजमोहन कुशवाहाले जनाएको छ।
कार्यक्रमको औपचारिक सत्रको सञ्चालन चन्द्रपुर नगरपालिकाकी हेमा कुमारी ढकाल (सुप्रिया) ले गर्नुभएको थियो।
