पुलिसलाई फेरि जय ट्रफीको उपाधि

32

६ चैत्र फाल्गुन । नेपाल पुलिस क्लबले लगातार दोस्रो वर्ष जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि जितेको छ । रशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि पुलिसले मूलपानीको माथिल्लो क्रिकेट मैदानमा बिहीबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हरायो ।

पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चियासत्रपछि पूरा गर्‍यो । पुलिसले त्यसक्रममा ५७ ओभरभित्र २ सय ३० रन जोडेको हो । गत वर्ष वीरगन्जमा पनि पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो । तर यसपल्ट त्यस्तो थिएन ।

आर्मीले पहिलो खेलमै पुलिसलाई ९ विकेटले पराजित गरेको थियो । पुलिसले दुवै इनिङ्समा क्रमशः १८७–८ र ८८ रनको स्कोरमात्र बनाउन सकेको थियो । यसले पुलिसको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनाइदिएको थियो । त्यसयता पुलिसले जोडदार प्रदर्शन गर्दै सबै ३ खेल जितेर उपाधि आफ्नो पक्षमा पारेको हो । पुलिसका प्रशिक्षक मन्जित श्रेष्ठ उपाधि यात्रालाई स्वाभाविक मान्छन् ।

‘हाम्रो टिमवर्क निकै राम्रो छ, हामी सबै क्रिकेट मैदानमा लागिपरेका व्यक्तिहरू छौं, हार्ने स्थितिमा पनि खेलाडीको मात्र होइन, व्यवस्थापक र प्रशिक्षण टोलीको जोसजाँगर त्यहीअनुरुपको छ,’ नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी उनले भने, ‘हाम्रो टिममा राम्रो समन्वय छ । टोलीमा कुनै दबाब छैन, खेलाडीले जस्तो स्थितिमा पनि सकरात्मक रूपमा खेल्न पाउँछन् ।’ प्रहरीको संगठन राम्रो भइरहेकाले नतिजा पनि राम्रो दिइरहेको उनको बुझाइ छ ।

दिलसाद अली ५७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेर ३१ र शंकर राना ८ बल खेलेर २ चौकासहित १३ रनमा अविजित रहे । अमित श्रेष्ठ शून्य र दिनेश खरेल २५ रनमा आउट भएपछि रशिद र कुशलले तेस्रो विकेटमा ठोस साझेदारी गरेका थिए । कुशलले ५१ र रशिदले ८१ रन बनाए । कुशलले ६४ बल खेल्दै ५ चौका र प्लेयर अफ द फाइनल रशिदले १ सय २८ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे ।
कुशल र आरिफले निर्धक्कका साथ खेलेपछि पुलिसले आर्मीलाई कुनै अवसर दिएन । कप्तान आरिफ शेख २१ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरी १४ र गुलशन झा १ रनमा आउट भए । आर्मीका पवन कार्कीले २ र शाहब आलमले १ विकेट लिए ।

यसअघि १७८–९ बाट तेस्रो दिनको खेलको सुरुआत गरेको पुलिसले थप ४८ रन जोडेको थियो । आकाश चन्द र घाइते अवस्थामा ब्याटिङ गरेका सोमपाल कामीले दसौं विकेटमा कुल ४९ रन जोडे । सागर ढकालले आकाशलाई आउट गरेर उक्त साझेदारी तोडेका थिए ।

आकाशले १ सय २ बल खेल्दै ५ चौकासहित ३७ रन बनाए । देब्रेहातमा लागेको चोटका बावजुत खेलेका सोमपाल २३ रनमा अविजित रहे । उनले ७६ बल खेल्दै ३ चौका प्रहार गरे । सागरले १६।२ ओभरमा २ मेडन राख्दै ४३ रन खर्चेर ४ विकेट लिए । करण केसी र ललित राजवंशीले ३–३ विकेट लिए ।

पहिलो इनिङ्समा दुवै टोलीले समान २ सय २१ रन बनाएका थिए । इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा २ सय २१ रन बनाएको थियो । करणले अविजित ७२ रन बनाएपछि पुलिसको पहिलो इनिङ्सको स्कोर पनि २ सय २१ रनमै रोकिएको थियो ।

पुलिसका ललित राजवंशी उत्कृष्ट बलर र प्लेयर अफ द सिरिजमा चुनिए । फाइनलअघि उनले २० विकेट लिएकाले उनलाई उत्कृष्ट बलरको उपाधि दिइएको थियो भने फाइनलको ६ विकेटसहित कुल २६ विकेट लिएका उनी प्लेयर अफ द सिरिज पुरस्कारको हकदार भए । बागमती प्रदेशका इशान पाण्डे उत्कृष्ट ब्याटरमा चुनिए । उनले समूह चरणका ३ खेलमा ३ सय ३१ रन बनाएका थिए । फाइनलमा क्रमशः १८ र ५१ रन बनाउँदै पुलिसका कुशल भुर्तेलले इशानलाई उछिन्दै कुल ३ सय ३६ रन बनाए । विजेतालाई नेपाल क्रिकेट संघका सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालगायतले पुरस्कृत गरेका थिए ।

शेयर