रौतहट सबगढा घटना प्रकरण दुबै समुदाय बिच ५ बुन्दे सहमति

11

संरक्षण , १० फागुन । रौतहटको गौर नगरपालिका–६ सबगढामा दुई दिनदेखि उत्पन्न साम्प्रदायिक तनाव नियन्त्रण तथा स्थायी शान्ति स्थापना गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकले पाँच बुँदे महत्वपूर्ण सहमति भएको हो ।

गत बिहीबार राति ९ः४५ बजेदेखि जन्तीमा बाजा बजाएको बिषयलाई लिएर सुरु भएको विवादले फागुन ८ गते उग्र रूप लिएर दुई समुदाय बीच झड्प भएका थिए ।

त्यसपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा ६ बुंदे सहमती गराएर शान्ति सदभाव कायम गर्न प्रतिबद्धता गरेको १२ घण्टा नबित्दै पुनः धार्मिक सदभावमा खलल पुयाएर व्यक्तिको घर, सार्वजनिक सम्पत्ती, मन्दीर मस्जिद तथा सावरी साधनहरु माथि गरिएको तोडफोड आगजनी पश्चात स्थानीय प्रशासनले अवस्थालाई नियन्त्रणमा लिए कडा कदम चाल्दै हिजो दिउँसो १ बजेदेखि कर्फयु लागू गरेको थियो ।

कर्फयु आज आइतबार विहान दुई घण्टा खुकुलो पारिएपनि विहानै ९ बजे देखि यथावतै राख्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।।

बैठकका प्रमुख निर्णयहरूः  

घटनाप्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सबै सरोकारवाला पक्षबाट संयुक्त सार्वजनिक अपिल जारी गर्ने ।

सबगढामा विवाद समाधानका लागि दुवै पक्षका स्थानीय भद्रभलादमीको सहभागितामा जिल्ला सुरक्षा समितिले औपचारिक–अनौपचारिक छलफल तीव्र बनाउने ।

अन्तर्राष्ट्रिय घटनालाई तोडमरोड गरी सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्तिहरू विरुद्ध आवश्यक कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने ।

धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वमाथि निगरानी कडा पारिएको र पक्राउ परेकाहरू दोषी ठहरिए कानुनी कारबाही गर्ने ।

जिल्लाभर धार्मिक–सामाजिक सद्भाव सुदृढ गर्न नागरिक समाजको अगुवाइमा भोलि बिहान ७ः३० बजे सबगढामा सद्भाव रयाली आयोजना गर्ने ।

प्रशासनले रौतहटबाट शान्ति र सद्भावको सन्देश प्रवाह गर्न सबै समुदायलाई संयमता अपनाउन आग्रह गरेको छ । स्थानीयवासीलाई अफवाहमा नलाग्न र सत्य सूचनाको मात्र अनुसरण गर्न प्रमुृख जिल्ला अधिकारी भुसालले अपिल जारी गरे ।

उक्त बैठकमा गौर नगरपालिकाको मेयर शम्भु साह, राजपुरका मेयर डा। राजिक आलम, परोहाका मेयर शेख वकिल, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, नेपाली सेनाका कर्णेल विश्वास विष्ट, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नागरिक समाजका अध्यक्ष जगन्नथ प्रसाद केसरी, राजनीतिक अगुवा रेबन्त झा, रामचन्द्र गिरी, मोहन यादव, अनिल सिंह सहितका विभिन्न राजनीतिक दलका नेताहरुको साथै रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रबीन्द्रनाथ गोपाली, नेपाल पत्रकार महासंघका सचिव गौतम श्रेष्ठ, सबगढाका स्थानीय मुस्लिम र हिन्दु पक्षका अगुवाहरुको उपस्थितिमा सर्वपक्षिय बैठक सम्पन्न भएर शान्ति सदभाव कायम राख्न अपिल समेत जारी गरिएका छन् ।

शेयर