संरक्षण , चैत्र ९ वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा नगर प्रशासन र विभिन्न तहबाट संस्थागत रूपमा ठगी धन्दा फस्टाउँदै गएको आरोप लागेपछि स्थानीय स्तरमा तीव्र आक्रोश देखिएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले बेरोजगार युवा तथा सर्वसाधारणमाथि विभिन्न बहानामा आर्थिक शोषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।
पार्टीका सह–महासचिव नेजामुद्दीन शमानीले जारी गरेको प्रेस विज्ञप्तिमा जागिर लगाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने गरिएको आरोप लगाइएको छ । “लामो समयसम्म काम गराएर पछि हटाउने र तलब नदिई युवाहरूको श्रममाथि खेलबाड गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकामा कर वृद्धि गरेर नागरिकमाथि आर्थिक भार थपिएको पनि आरोप लगाइएको छ । पहिले ३०० रुपैयाँ लाग्ने सम्पत्ति करलाई बढाएर १५०० रुपैयाँ पुर्याइएकोप्रति विरोध जनाइएको छ । आन्दोलनपछि १० प्रतिशत मात्रै कर घटाइनुले समस्या समाधान नहुने स्थानीयको भनाइ छ ।
त्यसैगरी नगर विस्तार तथा विकास योजनाका नाममा रकम असुली, डिपिआर तयार गर्ने क्रममा अनियमितता र बजेट दुरुपयोग भएको आरोप समेत लगाइएको छ । सार्वजनिक बजेटलाई प्रभावकारी रूपमा प्रयोग नगरी व्यक्तिगत लाभ र कार्यकर्ता पोस्ने कार्यमा खर्च गरिएको दाबी गरिएको छ ।
