शीतल निवास मै बालेन्द्र शाहको शपथ हुने ,राष्ट्रपति कार्यालय जुट्यो तयारीमा

12

संरक्षण ८ चैत, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनको प्रक्रिया अघि बढाएसँगै नयाँ प्रधानमन्त्रीको शपथग्रहणको तयारी तीव्र पारिएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय बहुमत हासिल गरेको रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो। पार्टीले चैत १२ गते उनलाई संसदीय दलको नेता चयन गर्ने र त्यसको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेको जनाएको छ।

शपथग्रहणका लागि रास्वपाले राष्ट्रपति कार्यालयमा औपचारिक पत्र पठाइसकेको छ। त्यसअनुसार रामचन्द्र पौडेल नेतृत्वको राष्ट्रपति कार्यालयले पनि आवश्यक तयारी सुरु गरेको छ।

शुरुमा शपथग्रहण कार्यक्रम शीतल निवास बाहिर गर्ने विषयमा रास्वपाभित्र छलफल भएको थियो। तर राष्ट्रपति पक्षले शपथग्रहण संवैधानिक रूपमा राष्ट्रपति निवासमै हुनुपर्ने अडान लिएपछि कार्यक्रम शीतल निवासमै हुने निश्चित भएको स्रोतले जनाएको छ।

राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरले पनि शपथग्रहण स्थल परिवर्तनको हल्ला असत्य भएको स्पष्ट पार्दै राष्ट्रपति निवासमै कार्यक्रम हुने बताएका छन्।

यसअघि भदौ २४ गते भएको आगजनीका कारण शीतल निवासको केही संरचना क्षतिग्रस्त भए पनि हाल मर्मत तथा सरसफाइको काम जारी रहेको छ। आवश्यक व्यवस्थापन मिलाएर सोही परिसरमा शपथग्रहण सम्पन्न गरिने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि नयाँ प्रधानमन्त्रीको शपथ शीतल निवासमै हुने पुष्टि गरेका छन्।

शेयर