संरक्षण ८ चैत,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न गरिएको सिफारिस हाल विचाराधीन अवस्थामा राखेका छन्।
चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त एक पदमा अर्यालको नाम सिफारिस गरेको थियो, जसअनुसार राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ।
राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार सिफारिस राष्ट्रपतिसमक्ष पेस भइसकेको भए पनि देशको वर्तमान राजनीतिक अवस्था र बाहिर देखिएको आलोचनालाई ध्यानमा राख्दै केही समयका लागि विचाराधीन राखिएको हो।
“सिफारिसमा कुनै समस्या छैन, नियुक्ति नगर्ने भन्ने होइन,” कुँवरले भने, “राजनीतिक अवस्था र सार्वजनिक प्रतिक्रिया हेरेर केही दिन विचारका लागि रोकिएको हो।”
राष्ट्रपति पौडेलले उक्त सिफारिस अस्वीकार गर्ने पक्षमा नरहेको र केही दिनभित्रै निर्णय आउने संकेत पनि दिइएको छ।
यसैबीच, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नयाँ सरकार गठनको तयारीमा रहेको छ।
गृहमन्त्री अर्यालको सचिवालयले चैत ११ गतेसम्म नियुक्ति हुने अपेक्षा गरे पनि त्यसबारे आधिकारिक मिति तय भइसकेको छैन।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ चैत १२ गतेका लागि तय गरिएको छ।
