संरक्षण , फाल्गुन ११ बिरगंज । सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले आइतबार साँझ वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरबाट दुई जना युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार श्रीपुरस्थित मस्जिद नजिक सडकमा उभिएका स्थानीय युवाहरूलाई विनाकारण कुटपिट गरी सामाजिक सद्भाव बिगार्ने प्रयास गरेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सडकमा उभिएका युवामाथि अनाहकमा कुटपिट भएपछि शान्ति भंग भई सामाजिक सद्भाव बिग्रने अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा अनुसन्धानका लागि प्रहरीले सक्रियता बढाएको जनाएको छ।

घटनाका मुख्य आरोपी भनिएका नेपाल कम्युनिस्ट पार्टी ९एमाले० मधेस प्रदेश कमिटी सदस्य मोहम्मद निजाम भने हाल प्रहरी सम्पर्क बाहिर रहेका छन्। डीएसपी बस्नेतका अनुसार निजामलाई सोधपुछका लागि सम्पर्क गर्न खोज्दा उनी फेला नपरेपछि खोजी कार्य तीव्र पारिएको छ। प्रहरी टोली उनको घरमा पुग्दा उनी त्यहाँ नभेटिएको जनाएको छ।
निजाम लगायतको समूहले गरेको कुटपिटबाट स्थानीय ललन महतो, अमर महतो, धिरज साह लगायत चार जना युवा घाइते भएका छन्। घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ।
यसैबीच, घटनाको विरोधमा उत्रिएका स्थानीय युवाहरूले आक्रोश व्यक्त गर्दै यसलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा हार निश्चित देखिएपछि एक राजनीतिक नेताले सामाजिक सद्भाव बिथोलेर चुनाव भाँड्न खोजेको उनीहरूको आरोप छ। दोषीमाथि कडा कारबाही नभए थप आन्दोलनमा उत्रिने चेतावनीसमेत स्थानीयले दिएका छन्।
प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने जनाएको छ।
