संरक्षण , न्युज डेस्क पर्सा, फागुन १७ । जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तथा व्यवस्थापन सम्बन्धी विभिन्न कडा निर्देशन जारी गरेको छ। कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावी प्रचार–प्रसार, सवारी सञ्चालन तथा होली पर्व मनाउने तरिकासम्बन्धी विशेष प्रावधान लागू गरिएको जनाएको छ।
जारी सूचनाअनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा वा चुनाव चिन्ह अंकित टि–सर्ट, कमिज, गम्छा, टोपी, झोला लगायतका कपडा लगाई होली मनाउन निषेध गरिएको छ। होलीका बेला मोटरसाइकल दुर्घटनाबाट हुने क्षति बढ्दै गएको देखिएकाले तोकिएको अवधिमा मोटरसाइकल प्रयोग गरी होली मनाउन समेत रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ।
सवारी आवागमनसम्बन्धी व्यवस्थाअन्तर्गत मतदानका दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारी सञ्चालनमा कडाइ गरिने जनाइएको छ। एम्बुलेन्स, रेडक्रस, दूध तथा औषधि बोकेका सवारी, खानेपानी सेवा, दमकल, शववाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारीलाई भने पास आवश्यक नपर्ने उल्लेख छ। अन्य सवारीका लागि जिल्ला प्रशासन कार्यालयबाट निर्वाचन अधिकारीको सिफारिसमा पास जारी गरिने व्यवस्था गरिएको छ।
कूटनीतिक नियोग बाहेक विदेशी नम्बर प्लेटका सवारी साधन निर्वाचन मौन अवधिभर सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, तोकिएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म पर्सा जिल्लाभर राजनीतिक प्रचार–प्रसार, धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममा डीजे लगायतका ध्वनि प्रदूषण हुने बाजा बजाउन निषेध गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा शान्ति, सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।

