संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १७ । जिल्ला निर्वाचन कार्यालय बाराको आयोजनामा निर्वाचन तथा आम–सञ्चार विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत नविन चौधरीले सहजीकरण गर्दै पत्रकार तथा सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिता पूर्णरूपमा पालन गर्न आग्रह गरेका हुन्।
उनले सञ्चारमाध्यम निर्वाचनको समय संवेदनशील हुने भएकोले समाचार प्रस्तुति, जनचेतना र सार्वजनिक सूचनामा निष्पक्षता तथा तथ्यपरकता अत्यन्तै महत्त्वपूर्ण रहने उल्लेख गरे। “आचारसंहिता सबैका लागि समान रूपले बाध्यकारी छ, पत्रकारिता अझै जिम्मेवारीपूर्ण हुनुपर्छ,” चौधरीले बताए।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयले अहिलेसम्म विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको मतदान प्रक्रिया, मतदाताको सहभागिता, पारदर्शिता, गोपनीयता तथा समावेशी निर्वाचन सम्बन्धी कार्य तथा अभियानहरूको विस्तृत जानकारी साझा गरियो।
अधिकारिहरूले चुनावी तयारीदेखि मतगणना प्रक्रिया, मतदाता शिक्षादेखि अपांगता तथा पिछडिएको वर्गको पहुँच अभिवृद्धि गर्न गरिएका कामहरूबारे पनि प्रेजेन्टेशनमार्फत सहभागीहरूलाई अवगत गराए।

कार्यक्रममा सहभागी पत्रकार, प्रतिनिधि र स्थानीय निकायका प्रतिनिधिहरूले निर्वाचनमा सूचना प्रवाहको भूमिकालाई महत्वपूर्ण ठहर गरेका थिए।
जिल्ला निर्वाचन कार्यालय बाराले आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी बनाउन निरन्तर सहयोग र सहकार्य जारी रहने जनाएको छ।
