पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएसँगै नेपालमा ऐतिहासिक माहोल बन्यो । देशको कार्यकारी पदमा उनको नियुक्तिले अन्ततस् शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न भएको छ । यसले उनको कूटनीतिक र रणनीतिक सामर्थ्य तथा निर्णय लिनसक्ने खुबी उजागर गर्छ ।
उनले पद सम्हालेको छोटो समयमै मानिसहरुले ‘आमा’ सम्बोधन गर्न थाले । यस्तो सम्बोधनले उनको राजनीतिक सोचलाई ओझेलमा पार्न खोजेजस्तो देखिन्थ्यो ।
जब पुरुष नेताहरूलाई ‘बा’ भनिन्छ । तब, उनीहरुको उपस्थितिलाई शक्ति, मार्गदर्शन, हाँसो र निर्णयकर्ताका रूपमा लिइएको हुन्छ । जब हामी मार्च महिनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछौं, तब नेतृत्वको अवसर पाउनेहरूको मात्रै चर्चा गरेर पुग्दैन । बरु, हामीले तय गर्ने सोचबारे पनि चर्चा गर्नुपर्छ ।
‘आमा’ वा ‘बा’ भनेर गरिने सम्बोधनको भावनात्मक महत्त्वसँग मेरो कुनै विमति छैन । तर, उनीहरूको नेतृत्वलाई यी सम्बोधनले गर्ने बढाइचढाइ र पित्तृसत्तात्मक आकारमा ढालेर हेरिने कार्यप्रति मेरो चासो छ ।
सतहमा हेर्दा महिला नेतृत्वलाई आमा भन्नु सम्मान र माया हो । तर, हामीलाई थाहा छ, भाषा कहिल्यै तटस्थ हुँदैन । यसमा विभिन्न दृष्टिकोण, सांस्कृतिक मान्यता र शक्ति संरचना जोडिएको हुन्छ । जसले प्रायः अवस्थामा सामाजिक, राजनीतिक र ऐतिहासिक पक्षधरता झल्काइरहेको हुन्छ ।
जब कोही पुरुष शक्तिमा आउँछ । तब उसलाई रणनीतिकार, मध्यस्थता गर्नसक्ने व्यक्ति, नेता वा निर्णयकर्ताका रूपमा वर्णन गरिन्छ । उनीहरूको सामर्थ्यलाई राजनीतिक वा संस्थागत रूपमा लिन्छ । महिलाहरूलाई प्रायः भावनात्मक रूपमा परिभाषित गरिन्छ । उनीहरूलाई स्याहारकर्ता वा संरक्षकका रूपमा मात्र हेरिन्छ ।
राजनीतिक अधिकारीलाई आमाका रूपमा मात्रै हेर्नु उनीहरूले लिएको अधिकारको अवमूल्यन हो । यसरी हेर्नु भनेको उनीहरूको वैधतालाई राजनीतिक फैसला वा रणनीतिको साटो हेरचाह, त्याग वा नैतिक मान्यताका आधारमा मूल्यांकन गर्नु हो ।
महिलाहरूले आमाको झल्को दिएमात्रै उनीहरू स्वीकार्य नेता हुन्छन् भन्ने सोचले पुरुषसँग अपेक्षा गरिने महत्त्वाकांक्षा, निर्णय शक्ति, द्वन्द्व वा योजनाको अपेक्षा महिलाबाट गर्दैन ।
यो साँघुरो सोचले विविधतालाई मेट्छ । हरेक महिला आमा हुँदैनन् । सबै महिलाले मातृत्वको संकेत बनेर नेतृत्व गर्न चाहँदैनन् । तर, जब राजनीतिक बहसले महिला नेतालाई आमा भन्न थाल्छ, तब यसले महिलालाई शक्तिमा पुग्नका लागि आमाको पहिचान चाहिन्छ भन्ने संकेत गर्छ ।
संसारभर धेरै महिलालाई शक्तिमा मातृत्वको संकेतका रूपमा स्वीकारिएको छ । जस्तो, इन्दिरा गान्धीलाई ‘मदर इन्डिया’ भनियो । कोराजोन अक्विनोलाई ‘प्रजातन्त्रकी आमा’ भनियो । जसिन्डा आर्डेनलाई पनि बारम्बार मातृत्वको भाष्यबाटै बहसमा ल्याइयो ।
साइन्थिया इन्लोय र कारोल पेटम्यानजस्ता नारीवादी अध्येताले हेरचाहको भूमिकामा जोडेर समाजले बारम्बार महिलाको अधिकार र शक्तिलाई कटौती गरिरहेको उल्लेख गरेका छन् । यसले त्यही सोचलाई लाद्छ, जसले महिलाहरू आमा भएपछि मात्रै नेतृत्वमा स्वीकार्य र सान्दर्भिक हुन्छन् भन्छ ।
यद्यपि, नारीवादसँग प्रायः जोडिने गरेका गुणहरू ९जस्तो करुणा, भावनात्मक बौद्धिकता, सहकार्य० नेतृत्वको खुबी हुन्, केवल मातृत्वको प्रकृति होइनन् । सुन्ने धैर्य, द्वन्द्व समाधान, सामाजिक आयामलाई बुझ्ने र अध्ययन सरकारको आलोचनाका लागि महत्त्वपूर्ण हो तर, यी गुणहरूलाई सहजै मातृत्वसँग जोडिदिने गरिएको छ । यसले महिलाहरू स्याहारकर्ता भएकाले मात्रै राम्रो नेता बनेका हुन् भन्ने भाष्य बन्छ। जबकि, यी क्षमता राजनीतिक खुबी हुन्, व्यक्तिगत चरित्र होइनन् ।
पितृसत्तात्मक सोचबाट अलग भएर शक्तिको अभ्यास गर्ने महिलाहरूलाई आलोचना गर्ने गरिन्छ । यसले स्त्रीत्व र अधिकारबीचको तनाव देखाउँछ । बेल हुक्स र जुडिथ बट्लरजस्ता नारीवादी दार्शनिकले नारीवादको बृहत् र फराकिलो परिभाषाको वकालत गरेका छन् । व्यक्तिगत पहिचानमा पितृसत्तात्मक लैंगिक भूमिकाको कुनै साइनो नहुने उनीहरू बताउँछन् ।
महिलाहरू स्याहारकर्तासँगै रणनीतिक, करुणायुक्त, प्रतिवाद गर्नसक्ने, बौद्धिक र व्यवहारिक हुन्छन् । नारीवादलाई आमा वा मातृत्वका चरित्रमै सीमित गर्दा राजनीतिमा महिलाको भूमिका मात्रै होइन, नेतृत्वको कल्पना शक्ति पनि सीमित भइदिन्छ ।
महिलाले महत्त्वपूर्ण सफलता हासिल गर्दा पनि समाजले प्रायः आमाको त्यागका रूपमा तारिफ गर्छ वा त्यसका लागि उल्टै आलोचना पनि गर्छ । उदाहरणका लागि, महिलाले गर्भावस्था र सुत्केरी भएलगत्तै चुनाव जित्दा उनको वाहवाही हुन्छ । उनको मातृत्वलाई लिएर उनको प्रतिबद्धतालाई पृथक् देखाइन्छ । तर, उनको रणनीतिक अयिभान, राजनीतिक दृष्टीकोण, गहिरो जडयुक्त शक्ति संरचनामा प्रतिस्पर्धा गर्न उनले देखाएको साहसलाई भने अवमुल्य गरिन्छ वा किनारामा राखिन्छ ।
मातृत्वको भाष्यले राजनीतिक दृष्टिकोण बनाए पनि संरचनात्मक यथार्थले यस विषयमा बहस आवश्यक भएको देखाउँछ । जस्तो, निर्वाचनमा उत्रिएका प्रत्यक्षतर्फका ३४०६ जना उम्मेदवारमध्ये केवल ३ सय ८८ जना ९झन्डै ११ प्रतिशत० मात्रै महिला थिए । र, यौनिक तथा लैंगिक रुपमा अल्पसंख्यक समुदायबाट खुलेर आउने एकजनामात्रै थिए ।
यो विभाजित समाजमा चुनिएर आएका थोरै महिलासँग सबैका प्रतिनिधि आवाज उठाउनुपर्ने अतिरिक्त दबाब हुन्छ ।
व्यवहारिक प्रतिनिधित्वबाट राजनीतिक दार्शनिकहरूले यसलाई अलग राख्ने गरेका छन् । लैंगिक विभेदको सम्बोधन गर्ने जिम्मा महिला एक्लैको होइन, सबै लिंगका नेताहरूको प्रजातान्त्रिक जिम्मेवारी हो ।
तसर्थ, खुबी वा क्षमता भएका नारीहरूका लागि ‘आमा’ शब्द प्रयोग गर्न बन्द गरौं । शक्ति र नेतृत्वमा रहेका महिलालाई आफ्नो अधिकार प्रमाणित गर्नका लागि मातृत्व संकेत आवश्यक छैन ।
नेतृत्वलाई भिजन, जिम्मेवारी र शासन गर्नसक्ने खुबीका आधारमा हेर्नुपर्छ,परम्परागत आधारमा होइन ।हामीले महिलालाई उनीहरूको प्रजनन् र लैंगिक पहिचानकै आधारमा व्याख्या गर्न थाल्यौं भने महिलाहरू शक्तिमा जाँदा देखाउने राजनीतिक भिजन कम हुने जोखिम रहन्छ ।
आमा शब्दबाट अघि बढ्नुको अर्थ स्याहार, करुणा वा मायालाई अस्वीकार गर्नु होइन । बरु, महिला नेतृत्वको पूर्ण मूल्यांकन उनीहरूले राजनीतिमा निभाउने भूमिकाकै आधारमा मात्र गर्नु हो । विचारक, रणनीतिकार, मध्यस्थकर्ता, टेक्नोक्र्याट, निर्णयकर्ता र वर्तमान तथा भविष्यको आर्किटेक्टका रूपमा उनीहरूलाई स्वीकार्नु हो ।
