कांग्रेस सभापति देउवा कोल्हबीमा आउंदा पुर्व सहमहामन्त्री चौधरी सम्पर्क बिहिन

12

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १७ । बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापा कोल्हबीमा चुनावी सभालाई सम्बोधन गर्न आइपुग्दा पार्टीका पूर्व सहमहामन्त्री उमाकान्त चौधरीको अनुपस्थितिले कांग्रेसभित्र गम्भीर अन्तरविरोध सतहमा आएको देखिएको छ।

कार्यक्रममा उमाकान्त चौधरी मञ्चमा नदेखिएपछि कांग्रेस कार्यकर्ता र मतदातामाझ असन्तुष्टि चुलिएको छ भने थारु समुदायको मत नागरिक उन्मुक्ति पार्टी नेपालतर्फ ढल्किने स्पष्ट संकेत देखिन थालेको छ।

थारु समुदायमा राम्रो प्रभाव राख्ने मानिएका उमाकान्त चौधरी कार्यक्रममा अनुपस्थित रहनु कांग्रेस उम्मेदवार शम्भु बुढाथोकीका लागि ठूलो धक्का मानिएको छ। कार्यक्रममा हजारौं सहभागी देखिए पनि बुढाथोकीको अनुहारमा समेत उत्साहभन्दा बढी चिन्ता देखिएको सहभागीहरूले बताएका छन्।

स्थानीय थारु तथा आदिवासी समुदायका मतदाताहरूले यसपटक कांग्रेसलाई भन्दा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार भुवन प्रसाद चौधरीलाई ‘जातो’ चुनाव चिह्नमा मतदान गर्ने खुला संकेत दिन थालेका छन्। उमाकान्त चौधरीको मौनता र दूरीले कांग्रेसको परम्परागत मत बैंक कमजोर हुने विश्लेषण गरिएको छ।

कांग्रेस शीर्ष नेतृत्व चुनावी सभामा सक्रिय देखिए पनि स्थानीय स्तरमा नेतृत्वबीच समन्वय अभाव र असन्तुष्टिका कारण पार्टी कमजोर बन्दै गएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।

बारा–१ मा कांग्रेसभित्रको आन्तरिक खटपट खुला रूपमा देखिन थालेपछि चुनावी प्रतिस्पर्धामा कांग्रेस रक्षात्मक अवस्थामा पुगेको आकलन गरिएको छ।

उमाकान्त चौधरीको निष्क्रियता कायम रहे थारु मत ठूलो मात्रामा ‘जातो’ छापमा जाने सम्भावना बलियो बन्दै गएको स्थानीय जानकारहरूको भनाइ छ।

शेयर